सरोज यादव । सर्लाही – सर्लाही सर्लाहीको मलङ्वास्थित बालमन्दिर चौकमा रहेको बिरु म:म सेन्टर हाल स्थानीय स्तरमा मात्र नभई वरपरका क्षेत्रहरूमा पनि चर्चित बनेको छ । २२ वर्षीय युवा उद्यमी बिरु चौधरीले सञ्चालन गरेको यो होटल स्वाद र सेवाको विशिष्टताका कारण ग्राहकहरूको रोजाइको केन्द्र बन्दै गएको छ ।
बिरु चौधरीको उद्यमशीलताको यात्रा संघर्षबाट सुरु भएको हो । सुरुमा सर्लाहीको कौडेना गाउँबाट मलङ्वा आउँदा उनले गाउँकै एक जनासँग एक हजार रुपैयाँ सापटी लिएर ठेलामा म:म बेच्न थालेका थिए । आर्थिक अवस्था निकै कमजोर थियो, तर कडा परिश्रम, धैर्य, र निरन्तर मिहिनेतले उनलाई सफल उद्यमी बनायो ।
बिस्तारै व्यापार र आम्दानी बढ्दै गएपछि एउटा फ्ल्याट भाडामा लिएर ‘बिरु म:म हाउस’ सञ्चालन गरे, जसबाट अहिले उनी मासिक झन्डै दुई लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
बिरु म:म सेन्टरको म:म र सुप यति लोकप्रिय छ कि ग्राहकहरूलाई खानका लागि कम्तीमा २० मिनेट पर्खनै पर्छ । होटलको भीडले यसको सफलताको प्रमाण दिन्छ ।
बिरुका अनुसार, यहाँको मसला र सामग्रीको अद्वितीय संयोजन नै स्वादको मुख्य रहस्य हो । नरम म:मको आवरण, मसालेदार चटनी, र सुपको बेजोड स्वादले ग्राहकहरूको मन जितेको छ । “परम्परागत स्वाद र नवीन शैलीको मिश्रण नै हाम्रो विशेषता हो,” उनी भन्छन् ।
२२ वर्षकै उमेरमा बिरु चौधरीले मेहनत र आत्मविश्वासको बलमा सानो लगानीलाई ठूलो सफलता र मनग्य आम्दानीमा रूपान्तरण गर्न सफल भएका छन् । उनी युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले बिरुले बाल्यकालमा राम्रोसँग पढ्न पाएनन् । आर्थिक समस्याले गर्दा पढाइ अगाडि बढाउन कठिन भयो, तर मेहनतका साथ उनले आफ्नो व्यवसाय अघि बढाए । अहिले पनि उनलाई पढ्ने इच्छा छ, तर होटल कसले चलाउने भन्ने चिन्ताले उनलाई दोधारमा पार्छ ।
बढ्दो वैदेशिक रोजगारीको प्रवृत्तिलाई चुनौती दिँदै बिरु चौधरी भन्छन्, “जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, विदेश जानैपर्छ भन्ने छैन । म:मको होटल खोलेर विदेशमा जति कमाउन सकिन्छ भन्ने सन्देश दिन चाहन्छु ।”
उनले थपे, “अरू रोजगारीका लागि विदेश जान्छन्, तर मचाहिँ विदेश जाने योजना त्यागेर आफ्नै काममा लागेँ । आफ्नै देशमा काम गर्दा शरीरमा रोग पनि नलाग्ने, मेहनतको फल चाँडै प्राप्त हुने भएकाले म:म व्यवसाय रोजेँ ।”
बिरुको परिवारमा बुवा, आमा, दुई भाइ र पाचँ बहिनी छन् । उनका छोटो भाइ र बहिनीको पढाइ जारी छ, र उनी भन्छन्, “म आफैं पढ्न त पाइँन, तर मेरा भाइबहिनीलाई राम्रो शिक्षा दिन कुनै कसर बाँकी राख्दिन ।”
बिरु म:म होटलले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सर्लाहीमा नयाँ स्वाद र सेवाको मापदण्ड स्थापना गरेको छ ।
अब बिरु चौधरी भविष्यमा आफ्नो होटललाई विस्तार गरी अन्य स्थानमा शाखा खोल्ने योजना बनाइरहेका छन् । “ग्राहकहरूको माया र समर्थनकै कारण म यहाँसम्म आइपुगेको हुँ । अब यो व्यवसायलाई देशव्यापी बनाउने मेरो सपना छ,” उनी थप्छन् ।
बिरु म:म होटलले स्वाद, सेवा, र सफलता एकै ठाउँमा कसरी ल्याउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । यसले सर्लाहीका मात्र होइन, सम्पूर्ण देशभरिका युवालाई उद्यमशीलतामा हात हाल्न प्रेरणा प्रदान गरेको छ ।
संघर्ष, सफलता, र सपनाको यो कथा युवा पुस्ताका लागि मार्गदर्शन बन्न सक्छ ।



