सर्लाही । सर्लाहीको नवलपुरमा अवैध रूपमा सञ्चालन हुँदै आएको मोहन आयुर्वेद औषधालय मा पाइल्सको अप्रेसन गराउने क्रममा एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा लालबन्दी नगरपालिका–स्थित पुनर्वास निवासी हंसु पासवान रहेकी छन्।
स्थानीयका अनुसार आज दिउँसो उपचारका लागि औषधालयमा लगिएकी पासवानको पाइल्स अप्रेसन गरिँदै गर्दा अवस्था गम्भीर बनेको थियो। अप्रेसनकै क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ।
लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानी ले उक्त आयुर्वेद औषधालयले नगरपालिकाबाट कुनै पनि किसिमको सञ्चालन अनुमति नलिएको स्पष्ट पार्नुभएको छ। अनुमति बिना नै लामो समयदेखि उपचार सेवा दिँदै आएको औषधालयमा आवश्यक मापदण्ड, जनशक्ति र पूर्वाधार नपुगेको पाइएको छ।
घटनाप्रति प्रतिक्रिया दिँदै लालबन्दी नगरपालिका–२ का वडाध्यक्ष किरणकुमार पासवान ले अवैध स्वास्थ्य संस्थाहरूका कारण सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपरेको बताएका छन्। मापदण्ड नपुगेका स्वास्थ्य संस्था सञ्चालन गरी बिरामीको ज्यान जोखिममा पार्ने र आर्थिक शोषण गर्ने प्रवृत्तिमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ।
युवतीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोकमा टायर बालेर चक्काजाम गरेका थिए। केही समयसम्म राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको थियो।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार, मोहन आयुर्वेद औषधालयका चिकित्सकलाई पक्राउ गरिएपछि स्थानीयहरूले चक्काजाम तथा आन्दोलन फिर्ता लिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनापछि सर्लाहीसहित आसपासका क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था, क्लिनिक तथा औषधालयहरूको तत्काल अनुगमन र नियन्त्रण गर्नुपर्ने माग स्थानीयस्तरबाट तीव्र रूपमा उठ्न थालेको छ।



