अवैध आयुर्वेद औषधालयमा पाइल्स अप्रेसनपछि युवतीको मृत्यु

सर्लाही । नवलपुरस्थित मोहन आयुर्वेद औषधालय अवैध रूपमा सञ्चालन हुँदै आएको खुलेको छ। उक्त औषधालयमा आज दिउँसो पाइल्सको अप्रेसन गराउने क्रममा लालबन्दी नगरपालिका स्थित पुरनवासकी १८ वर्षीया हंसु पासवानको मृत्यु भएको हो।
लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले उक्त औषधालयले नगरपालिकाबाट कुनै पनि किसिमको सञ्चालन अनुमति नलिएको पुष्टि गर्नुभएको छ। अनुमति बिना नै उपचार सेवा दिँदै आएको उक्त औषधालयमा युवतीलाई उपचारका लागि ल्याइएलगत्तै अप्रेसन गरिएको र सोही क्रममा उनको ज्यान गएको बताइएको छ।
घटनाप्रति प्रतिक्रिया दिँदै लालबन्दी नगरपालिका–२ का वडाध्यक्ष किरणकुमार पासवानले अवैध स्वास्थ्य संस्थाहरूका कारण सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपरेको बताए। उनले कुनै मापदण्ड नपुगेका स्वास्थ्य संस्था खोली बिरामीलाई जोखिममा पार्ने र आर्थिक शोषण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यस्ता संस्थामाथि कडा कारबाही गर्न माग गरे।
घटनापछि स्थानीयस्तरमा अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूको अनुगमन र नियन्त्रण आवश्यक भएको आवाज उठ्न थालेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर