सर्लाही । यातायात व्यवस्था कार्यालय मलंगवाबाट सञ्चालन हुँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षामा गम्भीर अनियमितता भएको आशंका सार्वजनिक रूपमा उठ्न थालेको छ। लिखित परीक्षाको नतिजामा देखिएको अस्वाभाविक तथ्यांक, परीक्षार्थीहरूको प्रत्यक्ष अनुभव र स्थानीयस्तरमा फैलिएको चर्चा–परिचर्चाले लाइसेन्स वितरण प्रक्रिया निष्पक्ष छ कि छैन भन्ने प्रश्नलाई थप गहिरो बनाएको छ।
कबिलासी नगरपालिका–८ का एक स्थानीय युवाले मोटरसाइकल लाइसेन्सका लागि उमेर पुगेपछि गत महिना यातायात व्यवस्था कार्यालय मलंगवामा अनलाइन फाराम भरे। सम्पूर्ण प्रक्रिया पूरा गरी उनलाई लिखित परीक्षाका लागि मलंगबाबा ट्रायल सेन्टर, मलंगवामा बोलाइयो। ती परीक्षार्थीका अनुसार, आफूले सकेसम्म राम्रोसँग परीक्षा दिएको अनुभूति हुँदाहुँदै नतिजामा फेल देखिनु आश्चर्यजनक थियो।
उनको असन्तुष्टि फेल हुनुमा मात्र सीमित छैन। उनले एउटै बेन्चमा बसेका दुई महिला परीक्षार्थीले ४–५ वटा प्रश्नमा मात्र टिक लगाएको प्रत्यक्ष देखेको दाबी गर्छन्। “उहाँहरू धेरै प्रश्न छाडेर बसेको देखेको थिएँ, तर दुवै पास हुनुभयो,” उनले बताए।
यसपछि उनले यातायात व्यवस्था कार्यालय मलंगवाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिएका लिखित परीक्षाका नतिजा सूक्ष्म रूपमा अध्ययन गरे। अध्ययनले झनै चकित पार्ने तथ्य उजागर गरेको उनको भनाइ छ। उनका अनुसार २०८२ साल मंसिरदेखि पुससम्म विभिन्न मितिमा लिइएका लिखित परीक्षामा महिलाको पास प्रतिशत अस्वाभाविक रूपमा उच्च देखिन्छ। मंसिरमा सहभागी १७ महिलामध्ये १६ जना पास, मंसिर २२ गते ६ मध्ये ६ जना, मंसिर २९ गते ४ मध्ये ४ जना, पुस १ गते ३ मध्ये ३ जना, पुस २ गते १६ मध्ये १४ जना, पुस ७ गते ७ मध्ये ७ जना र पुस ९ गते ११ मध्ये १० जना पास देखिएका छन्। पुस १४, १६ र २० गते त सहभागी सबै महिला परीक्षार्थी १०० प्रतिशत पास भएका छन्।
“कतिपय दिन महिलाको पास प्रतिशत १०० मा १०० देखिन्छ, कतै ९७ प्रतिशत,” ती परीक्षार्थी भन्छन्, “तर पुरुष परीक्षार्थीको हकमा एउटै दिन पनि १०० प्रतिशत पास भएको तथ्य भेटिँदैन।” उनका अनुसार पुरुषको आवेदन संख्या बढी हुनु स्वाभाविक भए पनि, निरन्तर रूपमा महिलाको शतप्रतिशत पास हुनु सामान्य संयोग मात्र मान्न गाह्रो छ। “यसले कपि जाँचमै केही गडबड भएको शंकालाई बल पुर्याउँछ,” उनको दाबी छ।
स्थानीयस्तरमा लाइसेन्स वितरण प्रक्रिया निष्पक्ष र विवादरहित होला भन्ने आम नागरिकको विश्वास यस्ता तथ्यांक र अनुभवले डगमगाएको गुनासो बढ्दै गएको छ। “लिखित परीक्षामै यस्तो चलखेल हुन्छ भने प्रयोगात्मक परीक्षामा के–कस्तो हुन्छ होला, अनुमान गर्न गाह्रो छैन,” ती परीक्षार्थी भन्छन्।
उनले लिखित परीक्षामा प्रयोग भएका सम्पूर्ण उत्तरपुस्तिका (कपि) झिकाएर निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नतिजा तोडमोडमा संलग्न जो–कोही भए पनि कडा कारबाही हुनुपर्ने उनको माग छ।
आरोप लिखित परीक्षासम्म सीमित छैन। प्रयोगात्मक (ट्रायल) परीक्षामा समेत अनियमितता हुने गरेको आशंकासहित उनले ट्रायल सेन्टरका सीसीटीभी फुटेजसमेत अध्ययन–अनुसन्धान गर्न माग गरेका छन्। “यदि सबै प्रक्रिया पारदर्शी छ भने सीसीटीभी जाँच्न किन डराउनु ?” उनको प्रश्न छ।
यस प्रकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीबाट ट्रायल सेन्टरमा खटिएका वरिष्ठ सई भानुभक्त नेपालको नाम जोडिएपछि विवाद झनै चर्किएको छ। स्थानीयस्तरमा उनी ‘विवादास्पद ट्राफिक प्रहरी’ का रूपमा चिनिने गरेको र ट्रायल सेन्टर सञ्चालकदेखि यातायात कार्यालयमा सक्रिय दलाली समूहसम्मसँग उनको नजिकको उठबस रहेको आरोप लगाइन्छ। यद्यपि यी आरोपहरू हालसम्म प्रमाणित भइसकेका छैनन्।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक अशोक कुमार साह र यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख अधिकृत दिपेन्द्र कुमार यादवको नेतृत्वमा रहेको कार्यालयमाथि समेत निष्पक्ष छानबिनको माग उठिरहेको छ।
लाइसेन्स जस्तो संवेदनशील विषयमा पारदर्शिता, निष्पक्षता र जवाफदेहिता अनिवार्य हुन्छ। लिखित परीक्षाको नतिजामा देखिएको अस्वाभाविक तथ्य, परीक्षार्थीहरूको प्रत्यक्ष अनुभव र सार्वजनिक रूपमा उठेका प्रश्नले अब सम्बन्धित निकायलाई गम्भीर छानबिन गर्न बाध्य पार्ने देखिन्छ। यदि यी सबै केवल संयोग हुन् भने प्रमाणसहित स्पष्ट पारिनुपर्छ। होइन भने, दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याएर कडा कारबाही हुनु नै सुशासनको न्यूनतम शर्त हो।



