पोखरभिन्डामा सशस्त्रकै आँखाअगाडि तस्करी, चेकपोष्ट निष्क्रिय बनेको स्थानीयको आरोप

बिनय यादव, महोत्तरी । सम्सी गाउँपालिका–पोखरभिन्डा क्षेत्रमा नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरी बलको क्याम्प र चेकपोष्ट प्रभावहीन बनेको आरोप स्थानीयवासीले लगाएका छन्। सीमा निगरानी र राजस्व चुहावट रोक्ने उद्देश्यले तैनाथ चेकपोष्टकै अगाडि दैनिक रूपमा अवैध सामान ओसारपसार भइरहे पनि नियन्त्रण हुन नसकेको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार भारतबाट नेपाल भित्रिँदै गरेका राजस्व छलिएका सामानहरू सशस्त्र प्रहरीकै उपस्थितिमा रोकटोक बिना भित्रिने गरेका छन्। कतिपय अवस्थामा शंका लाग्दा पनि प्रहरीले नियन्त्रणमा लिनुको सट्टा साइड लगाएर छाडिदिने वा फिर्ता पठाउने गरेको आरोप उनीहरूले लगाएका छन्। यसले प्रहरी र तस्करबीच मिलेमतो रहेको आशंका थप बलियो बनेको स्थानीयको भनाइ छ।

सरकारले सीमा सुरक्षा मजबुत बनाउन तीन–तीन किलोमिटरको दूरीमा सशस्त्र प्रहरी तैनाथ गरे पनि पोखरभिन्डामा त्यसको प्रभाव देखिन नसकेको स्थानीयको गुनासो छ। प्रहरीकै आँखाअगाडि खुलेआम तस्करी बढ्दै जाँदा पनि कुनै ठोस कारबाही नहुनुले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको उनीहरू बताउँछन्।

यस विषयमा प्रतिक्रिया लिन पोखरभिन्डास्थित सशस्त्र प्रहरी क्याम्प प्रमुखसँग सम्पर्क गर्न खोज्दा फोन नउठेको स्थानीयले बताएका छन्। जिम्मेवार निकायबाट स्पष्ट जवाफ नआउँदा शंका झनै गहिरिँदै गएको उनीहरूको भनाइ छ।

हाल उक्त क्षेत्रमा तस्करहरूको गतिविधि बढ्दै गएको र अवस्था चिन्ताजनक बन्दै गएको भन्दै स्थानीयवासीहरूले समयमै छानबिन र कडाइ नगरे सीमा सुरक्षामाथि गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन्। घटनाबारे उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर