लालबन्दीमा ट्रक दुर्घटनाका पीडितद्वारा क्षतिपूर्ति र न्यायको माग गर्दै टायर बालेर प्रदर्शन

सर्लाही । नवलपुर – मलंगवा सडक अन्तर्गत लालबन्दी नगरपालिका–२, जुटपानीमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको घटनामा हालसम्म क्षतिपूर्ति र न्याय नपाएको भन्दै पीडित पक्षले नवलपुर क्षेत्रमा पूर्व – पश्चिम राजमार्ग अवरुद्ध पार्दै टायर बालेर प्रदर्शन गरेका छन् ।

पीडित परिवार तथा स्थानीयले दोषी चालकलाई कडा कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ ।

पुष १२ गते नातिनीलाई विद्यालयमा खाजा पुर्‍याएर साइकलमा घर फर्कँदै गरेका लालबन्दी नगरपालिका–२ निवासी ६९ वर्षीय मिन्दुक दोर्जे लोप्चनलाई जुटपानीस्थित लर्डब्राइट विजडम बोर्डिङ स्कुल अगाडि नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना ७ ख ७३६९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा लोप्चनको घटनास्थलमै मृत्यु भएको किरणकुमार पासवान ले जानकारी दिएका थिए ।

घटना भएको लामो समय बितिसक्दा पनि पीडित परिवारलाई क्षतिपूर्ति नदिइएको र दोषीमाथि अपेक्षित कारबाही नभएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको पीडित पक्षको भनाइ छ ।

इलाका प्रहरी कार्यालय लालबन्दी का प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारी ले घटनासम्बन्धी अनुसन्धान प्रक्रिया जारी रहेको र प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर